Home / News / National / सन् २०१८ मा खेलकुद, नेपालको क्रिकेट वर्ष

सन् २०१८ मा खेलकुद, नेपालको क्रिकेट वर्ष

काठमाडौं : सन् २०१८ मा अन्तर्राष्ट्रिय खेलकुदमा केही रोचक घटना भए, जसले खेलकुद वृत्तमा केही परिवर्तनको आभास दियो । पहिलोपटक रुसमा भएको फिफा विश्वकप फुटबल प्रतियोगितामा लुका मोड्रिचको टोली क्रोएसियाले फाइनल खेल्यो । यद्यपि उपाधि भने फ्रान्सले जित्यो । त्यसका लागि फ्रान्सले क्रोएसियालाई फाइनलमा ४-२ गोल अन्तरले पराजित गर्‍यो।

विश्वकप फुटबलको छोटो इतिहास बोकेको क्रोएसियालाई मोड्रिचले फाइनलसम्म डोहोर्‍याउनै सफलता रह्यो । विश्वकप फुटबलमा गरेको प्रदर्शनकै आधारमा मोड्रिच अर्जेन्टिनी लियोनल मेसी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोको दशक लामो वर्चश्वलाई तोड्दै फिफा विश्व वर्ष खेलाडी र बेलोन डी’ओर अवार्डबाट सम्मानित भए । यसको मतलब उनी सन् २०१८ मा विश्वकै सर्वाेत्कृष्ट फुटबलर चुनिए ।

यी नतिजाका आधारमा सन् २०१८ मा फुटबल धेरै चर्चाको विषय बन्यो । क्लब फुटबलमा सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मानिएको युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस क्लब लिभरपुललाई ३-१ गोलअन्तरले पराजित गर्दै स्पेनिस क्लब रियल म्याड्रिड लगातार तेस्रो वर्ष उपाधि जित्ने पहिलो टोली बन्यो । त्यसपछि गत डिसेम्बर २२ मा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)को टोली अल अमिनलाई ४-१ गोल अन्तरले पराजित गर्दै रियलले फिफा क्लब विश्वकप फुटबलको पनि लगातार तेस्रो वर्ष उपाधि सुरक्षित गर्‍यो ।

रुसमा विश्वकप सुरु हुँदै गर्दा थाइल्यान्डमा ११ देखि १६ वर्षसम्मका १२ जना बालक फुटबलर बाढीले भरिएको गुफामा थुनिए । उनीहरूलाई १८ दिनपछि सकुशल उद्धार गरिएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ती बालकको उद्धार भएपछि उनीहरूलाई रुसमै विश्वकप फाइनल खेल हेर्न निमन्त्रणा दिएका थिए । यद्यपि डाक्टरको नियमित निरीक्षणमा रहनुपर्ने भएका कारण उनीहरू रुस जान सकेनन् ।

फुटबलपछि सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियाली खेलकुद प्रतियोगिता चर्चामा रह्यो । गत अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म सञ्चालन भएको प्रतियोगितामा एक सय ३२ स्वर्ण, ९२ रजत र ६४ कांस्य पदकसहित चीनले पहिलो स्थान हात पार्‍यो ।

सन् २०१८ को सुरुआतमै स्विस टेनिस खेलाडी रोजर फेडेरर २० वटा ग्रान्डस्लाम टेनिस प्रतियोगिताको उपाधि जित्ने पहिलो खेलाडी बने । उनले जनवरी २८ मा अस्ट्रेलियन ओपनअन्तर्गत रोड लेभर कप जित्दै सो सफलता हात पारेका थिए । फेब्रुअरी १६ मा उनी ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय टेनिस वरीयताको पुरुष खेलाडीतर्फ शीर्ष स्थानमा रहे, जुन वरीयताले उनलाई सबैभन्दा पाको उमेरमा शीर्ष विश्व वरीयतामा पुग्ने पहिलो खेलाडी बनायो । अस्ट्रेलियाको क्रिकेटका लागि सन् २०१८ कालो बन्यो । टोलीका कप्तान स्टेभन स्मिथ, डेभिड वार्नर, क्यामेरोन बेनक्रफ्ट दक्षिण अफ्रिकाविरुद्धको टेस्ट खेलमा बल टेम्परिङ गरेका कारण प्रतिबन्धमा परे ।

क्रिकेटको वर्ष

सन् २०१८ मा घरेलु खेलकुदमा भने क्रिकेटले ठूलो सफलता हात पार्‍यो । नेपाली क्रिकेट टोलीले यही वर्ष इतिहासमै पहिलोपटक एकदिवसीय (ओडीआई) टोलीको मान्यता प्राप्त गर्‍यो । क्रिकेटपछि सन् २०१८ मा प्याराग्लाइडिङ खेलले नेपाललाई ठूलो सफलता दिलायो । इन्डोनेसियाको पालेम्बाङ र जकार्तामा भएको एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये प्याराग्लाइडिङले एक मात्र पदकका रूपमा रजत पदक दिलाएको थियो ।

यो पदक नेपालका लागि एसियाली खेलकुदको ६७ वर्षे इतिहासमा मात्रै दोस्रो र पछिल्लो २० वर्षपछिको पहिलो रजत पदक बन्यो । फुटबलमा नेपालको प्रदर्शन कमजोर रह्यो । बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाट बाहिरियो । वर्षको अन्तिममा शारीरिक सुगठनतर्फ महेश्वर महर्जनले नेपाललाई विश्वकपमै स्वर्ण पदक दिलाए ।

डिसेम्बर ११ देखि १७ सम्म थाइल्यान्डको च्याङमाईमा भएको १०औं च्याम्पियनसिपको पुरुष ७५ केजीमा महेश्वरले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । त्यस बाहेकका खेलकुदमा नेपालले उल्लेख्य सफलता हात पार्न सकेन ।

About Editor Hamrofm

Check Also

नाट्यश्वरी केन्द्रको भरतपुरमा समुद्घाटन

१९ असार चितवन – बिगतका बर्षदेखिनै कला र संस्कृतिको जगेर्नामा आफुलाई समर्पित गर्दैआएको नाट्यश्वरी कला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *