Home / News / Local / शून्य चोरी शिकारको एक वर्ष पूरा

शून्य चोरी शिकारको एक वर्ष पूरा

चितवन, चैत २७- चितवन राष्ट्रिय निकुञ्जले शून्य चोरी शिकारको एक वर्ष पूरा गरेको छ । गत वर्षको चैत २५ गते राति निकुञ्जको बेलहट्टा हरियाली सामुदायिक वन क्षेत्रको ध्रुवघाट नजिक एउटा भाले गैंडालाई तस्करले मारेका थिए । शून्य चोरी शिकारको तेस्रो वर्ष पूरा गर्न २६ दिन बाँकी छँदा गैंडा मारिएपछि गत वर्षको वैशाख २० गते शून्य चोरी शिकारको तेस्रो वर्ष मनाउने कार्यक्रम असफल भएको थियो । त्यसअघि २०७१ सालको वैशाख ९ गते निकुञ्जमा एउटा गैंडा मारिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार तस्कर सक्रिय हुनसक्ने भन्दै रातदिन गस्ती गरिएको छ । सबैको साथ र सहयोगले शून्य चोरी शिकार वर्ष मनाउन सफल भएको भन्दै उहाँले यद्यपि यो समय तस्करका लागि अनुकूल हुनसक्ने भन्दै गस्ती बढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निकुञ्ज सुरक्षार्थ सेना र निकुञ्जका कर्मचारीले रातभर पालो मिलाएर गस्ती गरिरहेका छन् ।” निकुञ्जमा ५० स्थायी पोष्ट, अस्थायी ५० पोष्ट र २० भन्दा बढी घुम्ती पोष्टमार्फत् गस्ती भइरहेको उहाँले बताउनुभयो । पैदल, साइकल, मोटरसाइकल, हात्ती, डुङ्गा र गाडीमार्फत गस्ती गरिँदै आएको ढकालले बताउनुभयो । नेपाली सेनाले रियल टाइम पेट्रोलिङ अर्थात् गस्ती कहाँ भइरहेको छ भन्ने जानकारी दिने प्रविधि प्रयोग गरी गस्ती गरिरहेको छ । निकुञ्जको सुरक्षार्थ खटिएको बटुकदल गणका गणपति समुन्द्र थापाकाअनुसार चौबिसैघण्टा निकुञ्ज सुरक्षामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

निकुञ्ज र मध्यवर्तीका अधिकांश ठाउँलाई कुनै न कुनै उपायबाट निगरानीमा राख्ने काम भइरहेको उहाँले बताउनुभयो । समय समयमा ड्रोनक्यामेराको समेतको प्रयोग गरी निकुञ्जको अनुगमन गरिएको थापाले बताउनुभयो । संवेदनशील क्षेत्रमा थप सतर्कता अपनाइएको छ । निकुञ्जमा महाहन्ट अभियान मार्फत् पनि निकुञ्जको सुरक्षा बलियो बनाइएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सुराक सञ्जालमार्फत् आएका सूचनाका आधारमा निकुञ्ज क्षेत्रमा गस्ती बढाउने काम पनि भएको छ । मध्यवर्ती क्षेत्रमा गठन गरिएका मध्यवर्ती उपभोक्ता समिति, चोरी शिकार नियन्त्रण युवा जागरण अभियान र मध्यवर्ती क्षेत्रका बासिन्दाले पनि निकुञ्ज सुरक्षाका लागि सहयोग पु¥याउँदै आएको अर्यालले बताउनुभयो ।

वन क्षेत्र डढेलोका कारण टाढाटाढासम्म देखिने हुँदा वन्यजन्तु असुरक्षित हुने खतरा रहन्छ । यतिबेला मुख्य रुपमा एकसिँगे गैंडा पानी खान र आहालका लागि पानीको स्रोत भएका ठाउँमा आउँने गर्दछन् । ती ठाउँमा तस्करको चलखेल हुनसक्ने हुँदा सुरक्षा निगरानी बढाइएको छ । फागुनदेखि जेठसम्म निकुञ्जमा चोरी शिकारको दृष्टिले उच्च जोखिम मानिन्छ । हालसम्म सबैभन्दा बढी चोरीशिकार सन् २००२ मा भएको थियो । त्यसवर्ष ३८ वटा गैंडा तस्करले मारेका थिए । त्यसयताका वर्षमा पनि अधिकांश चोरी शिकारी फागुनपछि वर्षात् अघिसम्म हुने गरेको अर्यालले बताउनुभयो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँंडा रहेका छन् ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *