Home / Business / चितवनको माधवपुरमा एकै व्यक्तिका ३ हजार ७ सय कुखुरा मरे,बर्ड फ्लूको आशंका

चितवनको माधवपुरमा एकै व्यक्तिका ३ हजार ७ सय कुखुरा मरे,बर्ड फ्लूको आशंका

चितवन,चैत २२- चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुरा अचानक मर्न थालेपछि बर्ड फ्लूको आशंका गरिएको छ । कुखुरा धमाधम मरेकाले बर्ड फ्लूको आशंका गरिएको लामिछाने पोल्ट्री फर्मका सञ्चालक अमृत लामिछानेले बताए । द्रोण प्रसाद लामिछानेको नाममा दर्ता भएको फर्मको रेखदेख र कारोबार उनका कान्छा भाइ अमृत लामिछानेले गर्दै आएका छन् । विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फर्ममा पहिलोपटक यति ठूलो समस्या देखिएको हो । फर्ममा लेयर्स कुखुरा मरेको थाहा पाएपछि आज (बिहिबार) दिउसो १ बजे जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल र पशु चिकित्सक डा. विकाश श्रेष्ठले स्थलगत निरिक्षण गरेका छन् । खोरको अनुगमन पछि कार्यालयका प्रमुख खरेलले छोटो समयमा यति धेरै कुखुरा मर्नुले बर्ड फ्लूको आशंका भएको वताए । तर ल्याब परिक्षणको रिपोर्ट नआई यसै भन्न नसकिने उनले जानकारी दिए । पशु चिकित्सक डा.। विकाश श्रेष्ठले बर्ड फ्लूको आशंका भएको तर रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिने प्रतिकृया दिए ।

यसरी फैलियो रोग

गत चैत्र १५ गते बेलुका हावाहुरी आएपछि साँझ ३ वटा कुखुरा मरेको सञ्चालक अमृत लामिछानेले बताए । त्यसैको भोलिपल्ट बिहान खोरमा १४ वटा कुखुरा मरेको देखेपछि उनले काम विशेषले काठमाडौं गएका दाइ द्रोण लामिछानेलाई फोन गरे । दाइको सल्लाह अनुसार उनि कुखुराको रोग परीक्षणको लागि भरतपुर पुगे । १६ गतेको पशु सेवा कार्यालयको रिपोर्टमा ‘एआइभी पोजिटिभ’ रिपोर्ट देखिएको थियो । सो रिपोर्ट कुनै रोगको लक्षण हो भन्ने थाहा पाएपछि थप परीक्षणको लागि काठमाडौ पठाउनुपर्ने थियो तर उनिहरुले पठाइदिएनन्, लामिछानेले दुःखेसो गरे । मैले पटक– पटक काठमाडौको रिपोर्ट नआएको गुनासो गरेपनि सुनुवाई भएन उनले भने । त्यसको लगत्तै उनले पुनः चैत्र २० गते भरतपुरमा नै कुखुरा परीक्षणको लागि स्याम्पल लिएर गएको बताए । त्यतिबेलासम्म खोरमा करिव १ हजार ५ सय कुखुरा मरिसकेको लामिछानेको भनाई छ । दोस्रो पटकको रिपोर्टमा पनि पहिलो जस्तै पोजिटिभ रिपोर्ट आएपछि बल्ल परीक्षणको लागि जिल्लाबाट स्याम्पल काठमाडौ पठाइएको उनले वताए । जिल्ला पशुसेवा कार्यालयको व्यवस्थाका कारण समस्या झन विकराल बनेको उनको आरोप छ ।
अण्डा दिन थालेको ३ महिनामा रोगको प्रकोप

लोमेन जातको लेयर्स कुखुराले अण्डा दिन थालेको ३ महिना भएको थियो । ५ हजार १ सय कुखुरा मध्ये ९९ प्रतिशत कुखुराबाट अण्डा उत्पादन भईरहेकोमा अचानक रोग लागेपछि अहिले फर्म सञ्चालकलाई कुखुरा गाड्ने ठाउँको समेत अभाव भएको छ । उनको ५ सय कुखुरा अट्ने २ वटा खोरका सबै कुखुरा मरेर खोर खाली भएको छ । २ हजार अट्ने अर्को ठूलो खोरमा करिब ३ सय जिउँदा कुखुरा देख्न सकिन्छ भने सो खोरमा मरेका कुखुराहरुको थुप्रो लगाएर राखिएको छ । अर्को २ हजार १ सय कुखुरा हालेको खोरमा १ हजार १ सय कुखुरा जिउँदा छन् भने मरेका कुखुराहरुको थुप्रो र ठाउँ–ठाउँमा खोरभित्रै ढलेको र ढल्दै गरेको कुखुरा देखिन्छ । फर्म सञ्चालक लामिछानेका अनुसार अब करिव १ हजार ४ सय कुखुरा जिउँदा भएपनि २ दिनभित्रमा सबै कुखुरा सकिने अवस्थामा छ । कृषि विकास बैंक भरतपुर शाखाबाट ४७ लाख रुपैया ऋण लिई कुखुरापालन गर्दै आएका लामिछाने परिवारले अब कसरी ऋण तिर्ने भन्ने चिन्तामा छ । सामान्यतया प्रति कुखुरा ८ सयको दरले पनि करिव ४० लाख रुपैया भन्दा बढी क्षति भएको लामिछानेले वताए ।

बर्ड फ्लूको आशंकामा परिवारले घर छाडे

१ हप्तादेखि कुखुरा मर्न थालेपछि लामिछाने परिवारका ५ जना बसाई सरेका छन् । उनिहरु रत्ननगरको टाँडी क्षेत्रमा बस्न थालेका छन् । उनीहरु विगत ४ दिनदेखि माधवपुरको घर छाडेर गएका हुन् ।

मरेका कुखुरा गाँड्न भ्याइनभ्याई

फर्मका सञ्चालक अमृत लामिछानेले मरेका कुखुरा गाँड्न थालेको करिव १ हप्ता भयो । विगत ३ दिनदेखि धेरै मात्रामा कुखुरा मर्न थालेपछि उनले बिहानदेखि बेलुकासम्म खेताला समेत लगाएर कुखुरा गाडेका छन् । उनले शुरुमा खाल्डो खनेर ४ सय कुखुरा गाडेका थिए भने १८ गते पुनः २ वटा खाल्डो खनेर करिव ७/७ सय कुखुरा गाडेका थिए । त्यसपछि कुखुरा झन् मर्ने क्रम बढेपछि २१ गते ठूलो खाडल खनेर १ हजार ३ सय कुखुरा एकैठाउँमा पुरेको लामिछानेले वताए ।

मरेका कुखुराको ल्याव परीक्षण काठमाण्डौमा

२ पटकसम्म जिल्ला पशु सेवा कार्यालय चितवनमा परीक्षण गरिएको रिपोर्टबाट कुखुरामा ‘एआइभी पोजिटिभ’ देखिएको थियो । ‘एआइभी पोजिटिभ’ देखिएपछि काठमाडौ पठाइएको स्याम्पल छिटो ा परीक्षण गर्न पटक–पटक काठमाडौं स्थित कार्यालयका प्रमुख डिकरदेव भट्टलाई पटक–पटक फोन गरेको सञ्चालक द्रोण प्रसाद लामिछानेले बताए । “आजपनि धेरैपटके फोन गरे उनले भने,३ बजे दिउसो आउने भनेको रिपोर्ट अझै आएको छैन् ।”

About Editor Hamrofm

Check Also

तनहुँको बन्दिपुर ५ ढाबमा ८ करोडको लागतमा स्वीमिङ पुल सहितको रिसोर्ट संचालनमा

तनहुँ, चैत १२– तनहुँको बन्दिपुर ५ ढाबमा ८ करोडको लागतमा स्वीमिङ पुल सहितको मस्र्याङदी रिभर भ्यू …

Leave a Reply

Your email address will not be published. Required fields are marked *