Home / News / Local / धुर्मुसले भने–“अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि चितवन उपयुक्त छ”

धुर्मुसले भने–“अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि चितवन उपयुक्त छ”

चितवन, चैत २१- कलाकार तथा धुर्मुस सुन्तली फाण्डेशनका अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त भएको बताउनुभएको छ । हिजो (मंगलबार) अपरान्ह भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि खेल मैदानको हिसाबले उपयुक्त भएको बताउनुभयो । “जमिन अत्यन्तै राम्रो छ, रंगशाला निर्माणका लागि धेरै कुराहरु छन्, यो मैदान रंगशाला निर्माणका लागि उपयुक्त छ”–धुर्मुसले भन्नुभयो । अहिले रंगशालाका लागि संभावित स्थानहरुको अवलोकन र निरीक्षण गरिरहेको भन्दै छिट्टै स्थान छनौट गरिने बताउनुभयो । धुर्मुसले भन्नुभयो–“आईसीसीको रुल हामीले फलो गर्नुपर्छ, क्रिकेट टेक्निकल गेम भएकाले सबै अध्ययनपछि काम अघि बढाउँछौं ।” भरतपुर महानगरपालिकाले गरेको जग्गा उपलब्ध गराउने निर्णय स्वागत योग्य भएको भन्दै खुशी व्यक्त गर्नुभयो । “भरतपुरले जग्गा दिने घोषणा लगत्तै हामी चितवन आईपुग्यौं, महानगरको पत्र पाउनु भन्दा अगाडि नै हामी यहाँको जग्गा अवलोकन गर्न आइपुग्यौंं”–कलाकार धुर्मुसले भन्नुभयो । धुर्मुसले रंगशाला निर्माण समिति बनि सकेकोले सम्बन्धि निकाय, विज्ञ र प्राविधिकको राय सल्लाह सुझाव अनुसार नै रंगशाला निर्माण स्थलको टुंगो लगाउने बताउनुभयो । “अहिले हामी जग्गा मात्रै निरीक्षण गरि रहेका छौं, रुपन्देहीको सिदार्थ रगंशाला, सैनामैनाको मैदान हेरेर चितवन आएका हौं, अब हेटौंडाका केही स्थान पनि हेछौं”–अभियान्ता धुर्मुसले भन्नुभयो । चित्रवन रगंशाला पुग्दा धुर्मुससहितको टोली निकै उत्साहित देखिन्थ्यो । स्थानीयहरुको भीड नै लागेको थियो । अवलोकनकै क्रममा धुर्मुसले स्थानीयहरुसंग क्रिकेटको बारेमा कुराकानी समेत गर्नुभएको थियो । स्थानीय युवा र आमा, दिदी बहिनीहरुसं समेत उहाँले क्रिकेट रंगशाला बारे जिज्ञासा राख्नु भएको थियो । स्थानीयको सहयोग बिना काम सम्पन्न गर्न नसकिने भन्दै उहाँले स्थानीयको इच्छा, चाहना बारे समेत बुझ्नु भएको थियो ।

रंगशाला बनि सक्यो, शिलन्यासको दिन उद्घाटनको मिति तोक्छौं

कलाकार सिताराम कट्टेल धुर्मुसले मानसिक रुपमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनि सकेको बताउनुभयो । “हाम्रो मानसपटलमा रंगशाला बनि सक्यो, रंगशाला साच्चिकै बन्छ, समयमै बन्छ, हामी बनाउँछौं”–धुर्मुस खुशी हुँदै भन्नुभयो । उहाँले रगंशाला बन्नु विकासको लहर भएको बताउनुभयो । असम्भव भन्ने चिज कुनै नरहेको र सकरात्क सोँच लिएर अघि बढे हरेक काम संभव रहेको उहाँको भनाई छ । पछि पछुताउन नपर्ने गरी अहिले नै धेरै क्षेत्रफलको जग्गा अवलोकन गरिहेको उहाँले बताउनुभयो । रंगशाला निर्माण गर्ने घोषणा गरेको एक सेकेण्ड पनि त्यसै नबसेको भन्दै धुर्मुसले रंगशाला छिट्टै निर्माण गर्ने अभियानमा जुटेको बताउनुभयो । “रगंशाला निर्माण अन्तराष्ट्रियस्तरमा थप पहिचान दिने काम हो, सुन्दर स्टेडियम बनाउने हाम्रो लक्ष्य हो” धुर्मुसले भन्नुभयो “नीतिगत काम सकिएपछि शिलन्यास गछौं, सोही दिन नै उद्घाटनको मिति तोक्छौं ।”

रंगशाला निर्माणपछि बुद्ध हाम्रो भन्नै पर्दैन

रगंशाला निर्माणमा जुटेका धुर्मुस सुन्तली फाण्डेशनका अभियान्ता कलाकार धुर्मुसले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण पछि भगवान गौम बुद्ध नेपालमा जन्मिएको भनेर प्रचार गरि रहन नपर्ने बताउनुभयो । सबैलाई प्रतिनिधित्व गर्ने गरी नै अन्तराष्ट्रिय रगंशालाको नाम लर्ड बुद्ध क्रिकेट स्टेडियम (गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला) राखिएको भन्दै यसले नै विश्वमा चिनाउने बताउनुभयो । “अन्तराष्ट्रि खेल हुने वित्तिकै सारा मिडियाले लर्ड बुद्ध स्टेडियम भन्नेछन्, त्यो नै हाम्रो पहिचान हो”–धुर्मुले भन्नुभयो ।उहाँले अन्तराष्ट्रिय स्तरमा नै नमुना रगंशाला निर्माणमा जुटेकोले करिव दुई सयदेखि तीन सय रोपनीसम्मको जग्गा खोजी गरिहेको बताउनुभयो । उहाँले अहिलेसम्म निर्माणधिन मुलपानी क्रिकेट रगंशाला पनि निकै प्रभावकारी देखिएपनि अन्य स्थानहरुको पनि अवलोकन गरिरहेको बताउनुभयो ।

चितवनको मैदान अहिलेसम्मकै उत्कृष्टः इन्जिनियर झा

जग्गा अवलोकन तथा निरीक्षणका लागि धुर्मुससहितको टोलीमा निश्किएका नेपाल इन्जिनियर एशोसियसनका उपमहासचिव रवि भुषण झाले चितवनको मैदान अहिलेसम्मकै उत्कृष्ट रहेको बताउनुभयो । तर रगंशाला निर्माणमा भने अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को रुलमा भर पर्ने बताउनुभयो । “हाम्रो लागि त मैदान एकदम राम्रो छ, मैदान खोजे जतिकै प्रयाप्त छ, तर आईसीसीको मान्यतालाई टेकेर अघि बढ्नु पर्ने भएकाले अहिले नै सबै कुरा भन्न सकिदैन”–इन्जिनियर झाले भन्नुभयो ।


जग्गा मागेजति दिन्छौंः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अन्तराष्ट्रिय स्तरको क्रिकेट रगंशाला निर्माणका लागि धुर्मुस सुन्तली फाण्डेशनलाई चाहे जतिको जग्गा उपलब्ध गराउने बताउनुभयो । जग्गा अवलोकन तथा निरीक्षण गर्न आएको धुर्मुससहितको टोलीलाई महानगरमा स्वागत गर्दै आवश्यक जग्गा सजिलै उपलब्ध गराउने बताउनुभयो । “हामीले घोषणा लगत्तै बोर्ड बैठकबाट अनुमोदन गरेका छौं, १० बिघा दिने निर्णय भईसक्यो, आवश्यक परेको खण्डमा जति पनि दिन सक्छौं”–मेयर दाहालले भन्नुभयो । मेयर दाहालले चितवन सबै हिसाबले उत्कृष्ट रहेकोले रगंशाला निर्माणका लागि उपयुक्त भएको बताउनुभयो । देशकै मध्य भागमा रहेको चितवन पूर्वाधारका हिसाबले पनि अब्बल रहेकोले रगंशाला निर्माणमा सहज हुने बताउनुभयो । उहाँले अन्तराष्ट्रिय स्तरमा चितवनलाई चिनाउने अर्को माध्यम खेलकुद भएकोले रगंशाला निर्माणमा जोड दिईएको बताउनुभयो । मेडिकल सिटि, पर्यटकीय हिसाबले चितवन अन्तराष्ट्रिय स्तरमा चिनिएको छ, अब चितवनलाई चिनाउने अर्को माध्यम खेलकुद भएकाले रगंशाला निर्माणका लागि एक करोड विनियोजन गरी सकेका छौं”–मेयर दाहालले भन्नुभयो । मैदान निरीक्षणका लागि धुर्मुससहितको टोलीमा कलाकार मनोज गजुरेल, ‘भद्रगोल’ टेलिऋंखलाका कलाकार कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँणे, भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह, भरतपुर १० का वडा अध्यक्ष अरुणपीडित भण्डारी, वडा नं.२० का अध्यक्ष, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीलगायत स्थानीय खेलकुदका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *