चितवन चैत २- नेपाल–भारत दुईदेशीय पर्यटन प्रवद्र्धन गोष्ठी चितवनमा सुरु भएको छ । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दुताबासको कार्यालय वीरगंजको संयुक्त आयोजनामा आजबाट सुरु भएको गोष्ठी ३ दिनसम्म चल्ने छ । गोष्ठीको आज एक कार्यक्रमको बीच नेपालका लागी भारतीय राजदुत मन्जवी सिंह पुरीले समुउद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै भारतीय राजदुत पुरीले दुईदेशीय पर्यटनमा वृद्धि गर्न दुवै पक्षले के–के गर्न सकिन्छ भनेर छलफल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल र भारतबीचको सिमापार पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । राजदुत पुरीले मेडिकल पर्यटनले पनि नेपाल र भारतमा पर्यटकको संख्या वृद्धि भइरेहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच पहिले देखिनै भाषिक, साँस्कृतिक सम्बन्ध रहेको भन्दै अझै सम्बन्धलाई प्रगाढ बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । त्यस्तै वीरगंजका भारतीय महावाणिज्य दुत विसी प्रधानले पर्यटन व्यवसाय एउटा ठूलो उद्योगको रुपमा विश्वमा स्थापित हुँदै गइरहेको बताउनुभयो । गतवर्ष मात्रै ट्राभल एण्ड टुरिजमको क्षेत्रमा ७.६ ट्रिलिएन अमेरिकी डलरको कारोबार भएको उहाँले दाबी गर्नुभयो । उहाँले नेपाल भारतबीचको खुल्ला सिमाना र भिसा नलाग्ने प्रावधानले दुवै देशमा पर्यटन प्रर्वद्धन गर्न ठूलो टेवा पुगेको बताउनुभयो । पर्यटन प्रवद्र्धनको लागी दुवै देशले मुख्य–मुख्य नाकादेखी केही मुख्य–मुख्य सहरसम्म थप सडक सञ्जाल बिस्तार गर्नुपर्ने, रेलमार्ग र हवाई यातायातको व्यवस्थामा सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । चितवनको भरतपुर क्षेत्र मेडिकल हवको रुपमा स्थापित हुदै गइरहेकोले भरतपुर र भारतबीच मेडिकल पर्यटनको पनि राम्रो सम्भावना रहेको उहाँले बताउनुभयो । तीन दिनसम्म चल्ने गोष्ठीमा नेपाल र भारतका पर्यटनसँग र सरकारी निकायका एक सय जनाको सहभागिता रहेको छ । गोष्ठीमा दुवैदेशका २र२ जनाले नेपाल र भारतको पर्यटनको हालको अवस्था, अबको सम्भावनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कुष्ण भुर्तेल, मिलन बाबु श्रेष्ठ, घनश्याम दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए भने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।
Hamrofm Number 1 radio station in the town

