Home / News / Local / सौराहामा बन्दैछ नेपालकै पहिलो वन्यजन्तु अस्पताल, निर्माण कार्य अन्तिम चरणमा

सौराहामा बन्दैछ नेपालकै पहिलो वन्यजन्तु अस्पताल, निर्माण कार्य अन्तिम चरणमा

चितवन, फागुन २१ – नेपालमै पहिलो पटक चितवनमा वन्यजन्तु अस्पताल बनाइएको छ । घाइते र रोगी वन्यजन्तुको उपचारका लागि बनाइएको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । घरपालुवा जनावरका लागि अस्पताल निर्माण भए पनि ठूला वन्यजन्तुको उपचारका लागि अहिलेसम्म व्यवस्थित अस्पताल बनेको थिएन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा निर्माण गरिएको वन्यजन्तु अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले अस्पताललाई निर्माणपछि छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ । ‘प्राविधिक र प्रविधि अहिले पनि छ, भवन नभएको हो ।’ उहाँले भन्नुभयो ‘पूर्ण रुपमा सम्पन्न भएपछि अस्पताल भवनबाटै काम सुरु गर्छौँ ।’

वन्यजन्तु अस्पताल नहुँदा घाइते भएका जनावरको उपचारमा समस्या हुँदै आएको थियो । घाइते तथा विरामी वन्यजन्तु उपचारको लागि सुविधा सम्पन्न अस्पताल बनेपछि संरक्षणकर्मी उत्साहीत भएका छन् । सुविधा सम्पन्न अस्पताल नहुँदा धेरै घाइते र विरामी वन्यजन्तुलाई गुमाउनु परिरहेको थियो । नेपालमा नै पहिलो पटक घाइते, अपाङ्ग, विरामी तथा अशक्त वन्यजन्तुहरुको उद्दार गरि उपचार गर्ने अस्पतालको शिलान्यास तत्कालीन वनमन्त्री महेश आचार्यले २०७१ साल फागुन २० गते गर्नुभएको थियो । अस्पताल बन्न नसक्दा ठूला घाउचोट र गोली लागेका वन्यजन्तुको अनुमानको आधारमा उपचार गर्नु परेको थियो । अब अस्पतालमा वन्यजन्तुको औषधि उपचारको लागि आवश्यक पर्ने सबै प्रविधि र उपकरण रहने भएकाले उपचारमा सहज हुने निकुञ्जका चिकित्सक डा. कमल गैरेले बताउनुभयो । सौराहामा रहेका हात्ती प्रजनन् केन्द्रलगायत देशका अन्य वन्यजन्तुसँग सम्बन्धीत केन्द्रहरुमा स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यसहित स्थापना भएको अस्पतालमा ४ जना चिकित्सक ७ जना प्राविधिक एक्स–रे कक्ष प्रयोगशाला र उपचार कक्ष रहने छन् । विरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुन्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक वासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुनेछ । अहिलेसम्म काठमाडौं उपत्यकाका घाइते वन्यजन्तुलाई सदर चिडियाखानामा सामान्य उपचार गर्ने गरिएको छ । हात्ती, बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको एक्स–रे देखि सम्पूर्ण शरीर परीक्षणसँगै त्यसका लागि मुभिङ एक्स–रे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गराइने राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त प्रमुख रामकुमार अर्यालले बताउनुभयो । लगभग ३ करोडको लागतमा निर्माण सम्पन्न हुने अस्पतालको लागि अमेरीकाको डेनभर चिडियाखाना विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा निर्माण भएको उहाँले बताउनुभयो ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *